काठमाडौं, २४ असोज। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले नेकपा एमालेका अध्यक्ष केपीअ ओलीलाई प्रधानमन्त्रीमा सघाउने भएको छ ।
आज बसेको फोरम लोकतान्त्रिक र एमालेको बैठकले आठ बुँदे सहमति गर्दै ओलीलाई सघाउने निर्णय गरेका एमाले सचिव प्रदीप ज्ञवालीले बताए ।
ओली नेतृत्वमा बन्ने सरकारमा तीन मन्त्रीसहित फोरम लोकतान्त्रिक पनि सरकारमा जाने भएको छ ।
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पनि अन्तिममा आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा उभिएको छ । फोरम लोकतान्त्रिकले केपी ओलीलाई भोट हाल्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निर्वाचनको अन्तिम समयमा आएर फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले ओलीलाई आफ्नो पार्टीले समर्थन गर्ने घोषणा गरेका हुन् ।
एमाले एमाओवादी गठबन्धनसँग आठ बुँदे सहमति गरेर गच्छेदारले ओलीलाई समर्थन गर्ने निर्णय गरेका हुन् । तीन दलका बीचमा आज बिहान ८ बजे उक्त सहमति भएको बताइएको छ । सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले हस्ताक्षर गरेका छन् ।
सहमतिमा अहिले भइरहेको मधेस आन्दोलनको राजनीतिक समाधान खोज्ने र प्रदेशहरुको सीमांकनमा राजनीतिक सहमति गरेर आवश्यकता अनुसार संविधान संशोधन गर्ने उल्लेख छ ।
यसैगरी समानुपाति समावेशी सुनिश्चित गर्ने, हाल कायम रहेको जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहनेगरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने पनि सहमति पनि आठ बुँदेमा उल्लेख छ