आज असोज १४ गते सरकारले निजि सवारी साधनलाई इन्धन दिन नसकेको घोषणा, सडक नेपाल बन्द जस्तै सुनसान छ, जनताको जीवन कष्टकर उन्मुख हुदैछ, उग्र भारतिय खेतालाहरु नाका बन्द गरिरहेछ्न,सरकारमा आसिन भद्र खेतालाहरु जनताको समस्या सुल्झाउन विकल्प खोज्नुको सट्टा कोहि भन्छन भारतको बिरोध नगरौं,कोहि साईकल चढ्ने खोक्रो राष्ट्रवादको नाटक गर्दैछन र कोहि मान्छे चढ्ने प्लेन नभएको देशमा तेल प्लेनमा ल्याउने अस्वभाविक भाषण गर्दैछन। सक्छौ भने गरेर देखाऊ होइन भने अर्थहिन शब्द बोलेर किन समय फ्याक्ने ?
आज चौतर्फी नेपाली आवाज एउटै छ, भारत मुर्दावाद! केवल भारत बिरोधी अभिव्यक्ती,हो आज भारतले नेपाल र नेपालिलाई शत्रुतापुर्ण व्यवहार गरेको छ, १९५० मा सम्पन्न नेपाल भारत शान्ती तथा मैत्री संन्धिकाे जबर्जस्त उलंङ्घन गरेको छ।१९५० नेपालभारत शान्ती तथा मैत्री संधिको धारा ५ मा नेपालले भारत भुमी भएर सैन्य सामग्री समेत आयात गर्न पाउने स्पष्ट उल्लेख छ तर आज इन्धनको त के कुरा आलु प्याज आयात गर्न पनि विनाकारण रोक लगाई १९५० को संधी उलङ्घन गरेको छ।यस स्थितिमा नेपाली एकमत हुन जरुरी छ, जायज छ। नेपालीले भारतलाई मात्र दोष दिइरहँदा यो परिस्थिती कस्ले र कसरी शृजना गरायो ? ती को को हुन ? अब जनताले चिन्न जरुरी छ, ताकी भविष्यामा पुन नेपालीलाई यो कष्टकर जीवन जिउन वाध्य नबनाओस।
सामन्यतया २००७ सालभन्दा अघि हामी नेपालिहरु आत्मनिर्भर थियौं भन्दा गलत नहोला । जब बिपीहरुले नेपालका शासक विरुद्ध भारत आशृत भएर क्रान्ति सुरु गरे त्यसबेलाबाट नै भारतीय गिद्धे दृष्टी नेपालमाथी पर्दै आएको पाइन्छ र भारतले नेपाली राजनितिज्ञहरुको अभिष्टहरु पूरा गर्दै क्रमिक र नजानिदो शैलिमा नेपालको अर्थतन्त्रलाई कम्जोर र परनिर्भर बनाउदै लग्यो यसको ज्वलन्त उदाहरणहरु नेपालका संस्थानहरु र विभिन्न सफल र स्थापित उद्योगहरु जस्तै भृकुटी कागज, छाला जुत्ता कारखाना हेटौडा सिमेन्ट, हरिसिद्धी इट्टा उद्योग गोरखकाली टायर,जनकपुर चुरोट,जुट मिल जस्ता सयौं उद्योगहरुलाई निजिकरण गर्दै या कुनै बहानामा धरासायी पार्ने कार्यहरु गर्दै आयो। जसले गर्दा नेपालमा बेरोजगार समस्याहरु बढ्दै गयो,परनिर्भर हुन बाध्य बनाइदै आयो।
देशमा उद्योग धन्दाहरु बन्द गराई प्रयाप्त बेरोजगार समस्या उत्पन्न गराउन हाम्रा वर्तमान काँग्रेस, एमाले नेतृत्वहरुको प्रमुख बिकाऊ भुमिका रह्यो।जसले गर्दा भारतले नेपालमा प्रशस्तै बिकाऊ राष्ट्घाती नेताहरु जन्मायो जो आज जनतासामु पानीमाथी ओभानो हुने प्रयत्न गर्दैछन।अब भारतले नेपाली मन र भावनालाई तहस नहस पार्नु थियो जसले गर्दा आजको दृष्य सहजै प्राप्त होस,उसले यस्ता पात्रहरुको प्रतीक्षा गरिरहेकै समय प्रचण्ड, बाबुरामहरु सहजै हात लाग्यो र नेपाली मन र भावनालाई बिखण्डित बनाउने कुटिल चाल चालेको हुनुपर्छ।बिद्रोह जनयुद्धको नाममा हजारौं जनतालाई सहिद बनाउदै जात, धर्म, प्रदेसको नाममा नेपाली मन बिखण्डन गर्न प्रचण्ड, बाबुराम जिहरु ०६३ सम्म आईपुग्दा सफल भए।
त्यही सफलतामा एमाले काँग्रेस इत्तरहरुले पनि काँध थापे, तथापी २०१० सालमा नै समग्र मधेस एक प्रदेसको मुद्दालाई भारत कै इशारामा वेदानन्द झाले उठाईसकेका थिए।०६३ नागरिकता ऐन बनेपछी मधेसले यो मुद्दालाई आन्दोलनको रुप दिन सबल प्रारुप बन्यो। फलस्वरुप ०६४ फागुन १ गतेबाट मधेसी गुटको गठन भयो र समग्र मधेस एक प्रदेसको नाममा मधेसी क्रान्तिले निरन्तरता पायो।०६४ फागुन पहिलो सातातिर भारतीय राजदुतको प्रत्यक्ष सहभागितामा मधेसवादी नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो,उपेन्द्र यादव, अनिलकुमार झा लगाय काँग्रेसका प्रतिनिधिहरुको स्वीकारोक्तिमा स्वायत्त मधेस प्रदेशकाे स्थापना गरि मधेसको बेग्लै सैन्य संरचना तयार गर्ने विषयमा सहमति गरे जुन दस्तावेजलाई तत्कालीन सरकारले प्रचण्ड र माधव कुमारलाई समेत समर्थन गराई अनुमोदन गरे।
यस्तै गरि अन्तरिम संबिधानमा अंगिकृत नागरिकता सम्बन्धी नेपाल हित विपरित व्याख्या गरिनु, मधेसमा जनसंख्याको आधरमा निर्वाचन क्षेत्र तय गरिने जस्ता राष्ट्रघाती सम्झौताहरु यिनै मधेसवादी नेताहरुको सहभागितामा कांग्रेस, एमाले, माओवादीले गरेको स्पस्ट छ। भर्खरै जारी संबिधानमा यिनै मुद्दाहरुले माथी भने जस्तै उपस्थिती नभए पछि भारत रिसाउन थाल्यो, मधेस बल्न थाल्यो।नयाँ संबिधानमा तीन दलले उपरोक्त मुद्दाहरु जानेर परिमार्जन गरे या अन्जानमा गरे उनै जानुन तापनी तीन दलका नेतृत्वहरुको नियतमा खोट देखियो यिनले अन्तरिम संबिधानमा जारी गरेका उपरोक्त मधेसको बुँदालाई नयाँ संबिधानमा स्थान दिइएको भए देश फिजि बन्न सक्थ्यो, या भारत संरक्षित भुटान बन्न बाध्य हुनु पर्थ्यो अन्यथा गृहयुद्धको मारमा सुडान, सीरियाको नियती भोग्नु पर्थ्यो।
यसकारण पनि यस स्थितिमा भारत त दोषी यसै पनि हो,उसले नेपाललाई सकारात्मक मित्रवत दृष्टीले हेर्नै चाहेन तर हजारौं जनताको छोराछोरिको वलिदानले ल्याएको गणतन्त्र, कराेडौ जनताले आशा र भरोसा गरेका दलका नेता र नेतृत्वहरु नै देशलाइ बन्धक राख्न, लिलाम गर्न लालयित रहेछन भन्ने यस्ता तथ्यहरु पाउँदा हामी नेपालिलाई दुख लाग्छ। यद्तपी आज पनि शक्तिमा यिनै भारतीय खेतालाहरु कै बोलवाला छ, भारतले जति बर्बरता प्रदर्शन गरे पनि हाम्रा सरकार जनताको कष्ट्लाई वेवास्ता गर्दै समाधानार्थ अर्को विकल्प खोज्न कुटनितिक पहल गर्न नै चाहिरहेका छैनन। बरु आफ्नो सकृयतामा भारतलाई नेपाल सुम्पन पाए यो देसको सासक बन्ने अवसरको आशामा मालिकको गुणगान गाउनमा नै व्यस्त झै आभास जनतालाई महसुस भैरहेको छ।
अब जनताले नै नेपाली मनलाई एकीकरण गर्न सक्ने जनताको नयाँ शक्ती तयार गर्नुपर्छ।अब पनि यो धर्म, यो जात,यो प्रदेस,यो दल या त्यो वाद भनेर अल्मलिनु हुन्न, समग्रमा नेपाली भावनाको एकता कायम गरि आत्मनिर्भर बन्ने स्वावलम्बि मार्ग खोज्नु जरुरी छ। भलै आजको नाकाबन्दी टर्न पनि सक्ला तर नेपाली आत्मनिर्भर नबने भविष्यमा फेरि पनि ईतिहास दोहोरिनेछ।अब पनि जनताले पराईको जी हजुरी गर्ने र देशलाई बन्धक बनाउनेहरुलाई रोजे भने, बन्धक बनाउनेहरुलाई रोजे भने, विश्वास गरे भने ६५ बर्षको लामो सघर्ष पश्चात् प्राप्त लोकतन्त्र नै खतरामा पर्नेछ ।
जय नयाशक्ती नेपाल !