0 COMMENTS

काठमाडौँ, १४ असोज / प्रधानमन्त्री सुशील कोइरालाले नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको अवरोध कूटनीतिक पहलबाट चाँडो खुलाउन प्रयास भइरहेको बताउनुभएको छ ।

दुई देशको सीमा क्षेत्रमा जारी अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्याको समाधान र तराई मधेसको आन्दोलन वार्ताबाट निकास खोज्न आग्रह गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएका विभिन्न नौ विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रियताका पक्षमा खुट्टा नकमाईकन आफूले काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

प्रमण्डलमा सहभागी नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार प्रधानमन्त्रीले वर्तमान सन्दर्भमा युवा र विद्यार्थीलाई संयम हुन भन्दैै भारतको झन्डा जलाउने वा विशिष्ट व्यक्तिको पुत्ला दहनजस्ता कार्य गरेर स्थितिलाई असहज बनाउनतिर नलाग्न पनि आग्रह गर्नुभयो ।

ध्यानाकर्षणपत्रमा भारतले देखाएको हस्तक्षेपपूर्ण व्यवहारको आलोचना गर्दै स्थितिलाई सहज बनाउन आग्रह गरिएको थियो । सो क्रममा नेवि सङ्घका अध्यक्ष रञ्जित कर्ण, अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ललगायत नौ विद्यार्थी सङ्गठनका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।