0 COMMENTS

आश्विन १३, २०७२- आन्तरिक उडानलाई प्रभावित हुन नदिन सरकारले बंगलादेशबाट रसीयन विमान क्यानडीड, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी गरेको छ ।भारतले गरेको नाकाबन्दीका कारण हवाई इन्धन आपूर्ति रोकिएपछि सरकारी अधिकारीहरुले बंगलादेशबाट एयरलिफ्ट मार्फत् इन्धन खरिद गरेर ल्याउन सकिनेलगायतका तीन वटा उपाय सरकारलाई सुझाएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठन भएको प्राविधिक समितिले चारवटा इन्जिन भएको रसियन विमान इलुसीन आइएल- ७६ विमान भाडामा लिई हवाई इन्धन आपूर्ति गर्न सकिने सिफारिस गरेको छ । वाणिज्य, गृह, पर्यटन र अर्थ मन्त्रालयको सचिवस्तरीय बैठकले मंगलबार गठन गरेको ७ सदस्यीय प्राविधिक समितिले यसलाई तत्काल गर्न सकिने पहिलो सुझाव भनेको छ । व्यापारिक प्रयोजनका लागि बनाईएको यो विमानले दुर्गम स्थानमा सैनिक कार्गो गर्छ । हाल यो विमान भारत, रसीया, युक्रेन लगायतका सेनाहरुले उडाइरहेका छन् ।

प्राविधिक समितिले पहिलो उपाय सम्भव नभए चीन र अमेरिकी सैनिक विमानबाट तेल आपुर्ती गर्न सकिने दोस्रो उपाय निकालेको छ । ‘बैठकले दोस्रो विकल्पमा चीन र अमेरिकी सैनिक विमानबाट इन्धन बोक्न सकिने भनेको छ, बिहीबार सरकारलाई उपयुक्त उपाय सुझाउने छ,’ पर्यटन सहसचिव आचार्यले भने । उनका अनुसार भुकम्पका बेला नेपालमा सहायता लिएर आएका सैनिक विमान सी-१७ ग्लोबमास्टर विमानले तेल आपुर्ती गर्न सक्छन् । लडाईमा बन्दोबस्ती लगायत कार्गो बोक्ने यो विमानले ७० हजार किलोग्रामसम्म कार्गो बोक्न सक्छ ।

बैठकमा सरकारी अधिकारीहरुले युद्ध सामाग्री बोक्ने सैनिक विमानले ढाकादेखि हवाई इन्धन ल्याउनु परे ४० देखि ५० हजार लिटरसम्म तेल बोक्न सक्ने निष्कर्ष निकालेका छन् । ‘हामीले अहिले सोचेको दोस्रो विकल्पका लागि चीन र अमेरिकी दूतावासलाई कुटनैतिक तहबाट अनुरोध गरे तत्काल आइलाग्ने समस्याका लागि उपाय हुन सक्छ,’ सहसचिव आचार्यले भने ।

बैठकले यसबाहेक एमआई-१७ हेलिकप्टरबाट पनि हवाई इन्धन आपुर्ती गर्न सकिने भनेको छ । यो तेस्रो उपायले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रहेका विमानस्थलसम्म नजिकैका भारतीय सहरबाट हवाई इन्धन ल्याउन सकिन्छ । अहिले काठमाडौंमा रहेको मौज्जदात इन्धनको दाँजोमा तराईबाट इन्धन भर्न आन्तरिक विमान कम्पनीहरुलाई भनिएको छ । तराईका विमानस्थलमा रहेका इवाई इन्धन डिपोमा तेल सकिहाले आन्तरिक उडान रोकिने भएकाले बैठकले तत्काल एमआई- १७ हेलिकप्टरबाट इन्धन ल्याउन सकिने भनेको छ ।

एमआई- १७ हेलिकप्टर नेपाली सेना र श्री एयरलायन्ससँग छन् । यी हेलिकप्टरले भारतीय सीमानाबाट ४/५ टन इन्धन आपुर्ती गर्न सक्ने अधिकारीहरुले भनेका छन् । यसैबीच प्राविधिक समितिको बैठकले नेपाल वायुसेवा निगमको बोइङ्ग ७५७ बाट पनि इन्धन आपुर्ती गर्न सकिने भनेको छ । तर रसीयन विमान वा चिनियाँ र अमेरिकी सैनिक विमानबाट आपुर्ती गर्न अन्य दुई उपायभन्दा बढी प्रभावकारी हुने छलफलमा भनिएको छ ।

हाल काठमाडौंबाट ४० वटा विमानले दैनिक ३ सय हाराहारी आन्तरिक उडान गर्छन् । हाल बुद्ध एयरका ८, यतिका ७, ताराका ७, नेपाल वायु सेवा निगमका ४, सिमि्रकका ४, गोमाका ४, कास्टमन्डपका २, मकालुका २, सीताको एक र सौर्यको एक गरी ४० वटा विमानले नेपालका ३० बढी सुगम र दुर्गम भेगमा आन्तरिक उडान गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।