0 COMMENTS

काठमाडौं– एकीकृत माओवादीको केन्द्रीय समिति वैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी त्याग गरेका डा.भट्टराईलाई घर फर्काउने औपचारिक प्रस्ताव अगाडि सारेका छन् । उनले योबाहेक तराई–मधेशमा आन्दोलन तत्काल वार्ताबाट समाधान गर्न र भारतीय नाकाबन्दी हटाउनेसहितका तीन प्रस्ताव बैठकमा पेश गरेका हुन् ।
वैठकमा उनको प्रस्तावमाथि छलफल चलेको थियो । अन्य छलफल र कार्ययोजनावारे सोमवारको वैठकमा छलफल हुने नेताहरुले बताएका छन् । प्रचण्डले आफ्नो धारणा राख्दै वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गर्नु आकस्मिक र असाधारण परिघटना भएको टिप्पणी गरेका छन् ।
उनले भट्टराईले पार्टी छाडेको घोषणा गरेको अघिल्लो दिनमात्रै पनि पार्टीलाई बलियो बनाएर लैजाने विषयमा छलफल भएका स्मरण गर्दै प्रचण्डले डा. भट्टराईले भोलिपल्टै एकाएक राजीनामा घोषणा गर्नु आश्चर्यजनक कुरा भएको बताए । ‘८ गते बाबुरामजीसँग पार्टी निर्माणबारे दुई घण्टा कुरा भएको थियो’ केन्द्रीय समिति बैठकमा प्रचण्डले भने, ‘पार्टी परित्यागको घोषणा एकाएक सुन्दा अनौठो मात्रै लागेको छैन, असाधारण र आकस्मिक परिघटना हो ।’
उनले बाबुरामले मस्यौदा समितिको प्रारम्भिक मस्यौदा आउँदासम्म प्रक्रियाबाटै भएपनि जसरी पनि संविधान ल्याउनु पर्ने बताउँदै आएको र अन्तिम मस्यौदा पारित गर्ने क्रममा एकाएक उनमा परिवर्तन आएको पनि बताए । बाबुरामबारे बोलिरहँदा पटकपटक भावुक भएका प्रचण्डले उनको राजीनामा पत्र बैठकमा पढेर सुनाएका थिए ।
विवादित विषयमा सहमति जुटाउने बेला एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत संविधान बन्न नसक्ने भन्दै कयौ पटक उठेर हिडेको स्मरण गर्दै प्रचण्डले आफूले तानेर फेरि बैठकमा बसाएको समेत बताए ।
उनले मधेस आन्दोलन भारतीय सहयोग रहेको संकेत गर्दै भने, ‘नाकापारीबाट नारा ल्याउँदै आन्दोलन गर्ने अनि यता र उतातिरका दुबै मिलाएर ट्यांकर रोक्ने कुरा बढो बिचित्रको छ ।’
उनले आन्दोलनरत पक्षलाई बन्द हड्ताल रोक्न आफूले पटक पटक आग्रह गर्दा त्यो सम्भव नरहेको भन्दै बरु बाबुराम उत्तेजित भएर संविधान रोक्ने खेलतिर लागेको समेत उनले बैठकमा धारणा राखे ।

यस्तो छ प्रचण्डका सुत्रः (केन्द्रीय समितिमा व्यक्त विचार)
विवाद र एकतावारे केन्द्रीय समितिमा छलफल गरौँ भनेको थिए । बाबुरामले पनि पहिला नै भनिसक्नु भएको थियो । बाबुरामजीले पार्टी त्यागको पत्र भन्दा पहिला नै विप्लव, वैद्यजीसँग कुरा गर्नुभएको रहेछ । बाबुरामजीले कुरा गरौ उहाँहरुसँग भन्नुभएको थियो । बेला बेला दिमाग खराव गराउनुहुन्थ्यो । मैले संविधान बन्दैन अहिले कुरा भयो भने भन्थे । मैले सम्पर्क गर्दा संविधान बन्दैन भनेर उहाँहरुसँग कुरा नगरेको हुँ ।
बाबुरामजीले सबै माओवादी एक हौं भन्नेमा वैद्य, विप्लवजी पनि एक हुनुहुन्छ भन्नुभयो । किरण र बादलसँग कुरा गर्नुभएको रहेछ । अहिले मैले तपाई, वैद्य, विप्लवजीको वैठक गरौँ भनेको छु । त्यसमा तपाई आउनु सजिलो हुन्छ भनेको छु । यसै फर्कनुस् भन्दा त गाह्रो हुन्छ उहाँलाई, राजीनामा गरिहाल्नु भयो । सबै माओवादी एक ठाँउमा बसौँ भन्दा राम्रो हुन्छ । मधेशका साथीहरु पनि आउँछन् । बाबुरामजीलाई पनि आउन बाटो खुल्छ ।

संविधानबारे
संविधानको बाटो सकियो । जे मिलेन मिलेन । अब चाँही पार्टीहरुको भेला गर्ने र बृहत्तर कम्युनिष्ट केन्द्र बनाउनेतिर सोचेको हो । कसरी जाँदा नयाँ शक्ति बन्ला भन्ने छ । बाबुरामजीले आफ्नो पत्रकार सम्मेलनमा राष्ट्रिय स्वाधीनता र भारतीय हस्तक्षेपको कुरा गर्नु भएको छ । कतैप्रति पूर्वाग्रही नभएर हेर्ने तिर सोच्नुपर्छ । यो अन्तिम होइन एउटा बाटो हो । जुन बाटो गएपनि यो केन्द्रीय समिति तयार भएर जानुपर्छ । यसो भए जुनबाटो पनि लिन सकिन्छ हामीले । अव गरि छाडछौँ, अनुशासन मान्छौँ भन्ने संकल्प बनाएर कार्यक्रम बनाएर गयौँ भने सवै माअ‍ोवादीसँग एकता हुन्छ । सवै एक ठाँउ आउन सकिन्छ । गुमेको प्रतिष्ठा प्राप्त हुन्छ । नत्र हुँदैन । यसमा गंभीर बनौँ ।
बाबुरामको तरिकाले हुँदैन
बाबुरामजीले सपना त देख्नुभएको छ । बाहिर निस्कन्छु नयाँ मान्छे खोजेर पार्टी बनाउछु भन्नुभएको होला । तर, आफुसँग संगठन, शक्ति नभईकन कसैसँग गएर केही हुनेवाला छैन । तपाई राम्रो त भन्छन्, सहयोग गर्दैनन्, केही आउनेवाला छैन । पार्टीकै संगठनलाई शक्तिशाली बनाएर मात्र अरुलाई समेटन सकिन्छ । यसो नगरे आफ्नो घर भत्कन्छ । अरु पनि आउँदैनन् ।

नाकाबन्दी र वार्ताबारे
नाकावन्दीवारे भारतसँग राजनीतिक तहमा कुरा हुनुपर्छ । भारतीय प्रधानमन्त्रीसँग सरकारले नाका बन्द नगर्न भनेको रहेछ, उताबाट नाका खुल्छ चिन्ता लिनुपर्देन भन्ने जवाफ आएको भनिएको छ । यो खुल्दै जाला । तर, मधेशी मोर्चा र थारुवानसँग वार्ता गर्न भनेका छौँ छिटो । यसो भए नाका चाडै खुल्छन । वार्ताको वातवरण भनेको छैन । तातोपानीको नाका के हुन्छ ? भनेर सोधेको थिए । यो पनि एक महिना लाग्छ रे । बरु रसुवागढीको बाटो पाँच दिनमा खुल्छ । मधेशी मोर्चा र थारु र भारतसँग कुरा गरेर नाका खोल्ने र वैकल्पिक उपाय पनि खोज्नप¥यो । थारुहरुसँग सहमतिको सम्भवाना छ । तर, वार्ताको वातावरण बनेको छैन ।

रातोपाटी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।