काठमाडौ११ असाेज /चीनसँगको व्यापारिक नाका केरुङ जोड्ने नेपालतर्फको सडक खुलेको छ । गत १२ वैशाखको भूकम्प र त्यसपछिको पहिरोले स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड अवरुद्ध भएको थियो । १२ वैशाखपछि रसुवागढी नाका बन्द हुँदा त्यहाँबाट नेपाल र चीनबीचको आयात–निर्यात ठप्प छ ।
रसुवा भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरूले मर्मतपछि आइतबारबाट रसुवाढीसम्म पुग्ने सडक पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिए ।
‘रसुवागढीदेखि काठमाडौंसम्मको यातायात सुचारु हुने गरी सडक मर्मत आइतबार बिहान सकियो, आयात–निर्यात सुरु गर्न नेपालतर्फ अब कुनै अवरोध छैन,’ प्रमुख पनेरूले भने, ‘नाका खोल्नका लागि चीनतर्फको काम मात्रै बाँकी छ ।’
पनेरू १३ जना कर्मचारीसहित शुक्रबार रसुवागढी पुगेका थिए । भूकम्पले विस्थापित भएको भन्सार कार्यालय पुनस्र्थापना भइसकेको छ । प्रमुख पनेरूले अध्यागमन कार्यालय, सीमा सुरक्षा बल, दूरसञ्चार सेवालगायत पनि केही दिनभित्रमै स्थापना भइसक्ने जानकारी दिए ।
भारतले नेपालमा नाकाबन्दी लगाएपछि सरकारले पनि चीनसँगको नाका खुलाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । भारतीय नाकाबन्दीका कारण दैनिक उपभोग्य वस्तुको अभाव भएपछि तातोपानी र केरुङ नाका खुलाउन चिनियाँ पक्षले पनि विशेष चासो दिँदै आएको छ ।