0 COMMENTS

असोज १०, काठमाडौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालीको लागि संविधान बनाउँदा विदेशीले टाउको दुखाउनु आवश्यक नभएको बताएका छन ।

छिरिङमा टेक्स एण्ड एक्स्पिडिसनले विश्व पर्यटन दिवसको अवसरमा आईतवार आयोजना गरेको भुकम्प पश्चात पर्वतारोहण क्षेत्रको अवस्था विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । मन्त्री पण्डितले संविधान जारी गर्दा विश्वमा जहाँ पनि उथलपुथल हुने गरेको उल्लेख गर्दै विश्वमै सबैभन्दा बढी मतले नेपालमा नेपालीको लागि मात्रै संविधानजारी भएको बताए ।

उनले संविधान सिलालेख नभएकोले नेपाली जनताको आवश्यकता अनुसार संसोधन हुने भन्दै संघीयता, लोकतन्त्र, गणतन्त्त चाहनेले यो संविधानलाई मुटुमा राख्नुको विकल्प नभएको दावी गरे । उलने नाकाबन्दीले मुलुकलाई अस्थिर बनाए पनि यो छिट्टै समाधान हुने विश्वास ब्यक्त गरे । संविधानको विषयमा ठिक ढंगले नबुझेकोले आन्दोलन भएको भन्दै आन्दोलनका नाजायज मागलाई कुनै पनि हालतमा मान्न नसक्ने स्पष्ट पारे ।

मन्त्री पण्डितले भने–न्यायप्रणाली बाहेक सबै तिर समानुपतिक छ, सीमांकन संघीय आयोगले मिलाउँछ , अंगीकृत नागरिकता लिनासाथ संबैधानिक पदमा जाने ब्यवस्था भारतमा पनि छैन, यहाँ पनि हुँदैन यस्ता भ्रम चिरेर अगाडि बढ्छौ । सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र रहेकोले यसलाई विशेष महत्वका साथ अघि बढाउने भन्दै उनले पुर्न्निर्माणको क्रममा पर्यटन क्षेत्रलाई अझै ब्यवस्थित बनाउने विश्वास ब्यक्त गरे ।

प्राकृतिक विपत्ति आउँछ र विश्वभरी यसलाई पन्छाएर नै अगाडि बढ्ने गरेको भन्दै नेपालमा पनि यसलाई पन्छाएर अघि बढ्नु पर्ने बताए । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाले भुकम्पले संरचना भत्किएपनि मन र उत्साह नभत्किएको भन्दै विस्तारै यो क्षेत्र माथि उठ्ने विश्वास ब्यक्त गरे । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र रोजगारी सृजना गर्ने यो क्षेत्रलाई अगाडि बढाउन आवश्यक रहेको भन्दै त्यसकोलागि आफूहरु लागि परेको मन्त्री पण्डितले बताए ।

छिरिङमा टेक्स एण्ड एक्स्पिडिसनले विश्व पर्यटन दिवसको अवसरमा आईतवार आयोजना गरेको भुकम्प पश्चात पर्वतारोहण क्षेत्रको अवस्था विषयक अन्र्त्क्रिया तथा सम्मान कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य घनेन्द्र श्रेष्ठले पर्यटन क्षेत्रको मेरुदण्ड पर्वतारोहण भएकोले यसकोलागि बोर्डले १५० विदेशी टुर अप्रेटर र पत्रकारहरुलाइृ बोलएर नेपाल बारे जानकारी दिएको भन्दै पुर्नउत्थानमा रहेको पर्यटन क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने बताए । उनले नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई दुतको रुपमा प्रयोग गरेर नेपाल सुरक्षित भएको प्रचार प्रसार गर्नु पर्ने आवश्यकता औल्याए । उनले भने–विदेशीहरुले गरेको अध्ययनमै ९० प्रतिसत रुटहरु सुरक्षित छन ।

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले भुकम्पले असर पारेको मुलुकमा संविधान जारी भएर केही सकारात्मक सन्देश गए पनि पछिल्लो समयमा मधेसमा सुरु भएको आन्दोलनले फेरि शंका उपशंका बढाएकोले छिटो समस्या समाधान गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउनु पर्ने आवश्यकता औल्याए । नेपालको अर्थतन्त्रको आधार रहेको पर्यटन क्षेत्रको विकासकोलागि राज्य गंभिर हुनु पर्ने भन्दै पर्यटकहरुलाई नेपाल सुरक्षित छ भन्ने संदेश फैलाउन सबै पक्ष लाग्नु पर्ने आवश्यकता उनले औल्याए ।

कार्यक्रममा एक्सपीडीसनका दावाछिरि शेर्पा सभापति, नर्वेका पर्वतारोही जोन ग्याङदल आरोहीहरु याङ दन शेर्पा, आङ फुर्वा शेर्पा र नोर्बु शेर्पालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।