0 COMMENTS

काठमाडौं: मधेसी मोर्चाको आन्दोलनका क्रममा इटहरीमा चिनियाँ झन्डा जलाइएपछि त्यसले मधेसी नेताहरूबीच फाटो ल्याउनुका साथै राष्ट्रिय तहमा पनि आलोचना निम्त्याएको छ।

मोर्चाको बैठकमा समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यसका लागि चीनसँग माफी माग्नुपर्ने अडान राखेका थिए। बुधबार राजविराजमा बसेको मोर्चा बैठकमा यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच झन्डा जलाइएको प्रकरणमा चर्काचर्की परेको थियो।

यादव पक्षले चिनियाँ झन्डा जलाउने मोर्चाका कार्यकर्तालाई राज्यले छानबिन गरी कारबाही गर्नुपर्ने बताएको छ भने महतो पक्षले संविधानको चीनले स्वागत गरेको आक्रोशमा जनसमुदायबाट भएको कार्य जायज रहेकाले धेरै विवाद जरुरी नभएको दाबी गरेको छ।

मोर्चा बैठकपछि बुधबार जारी वक्तव्यमा चिनियाँ झन्डा जलाउने कार्यको भत्र्सना गर्दै यस्ता कार्य आन्दोलनको नीतिविपरीत रहेको उल्लेख थियो। मोर्चाका एक नेताले भने, ‘कुनै पनि मित्रराष्ट्रको झन्डा जलाउने र त्यहाँका नागरिकमाथि अमर्यादित व्यवहार आन्दोलनको उद्देश्य हुनै सक्दैन।

आन्दोलनको एकमात्र उद्देश्य प्रमुख तीन दलले एकपक्षीय रूपमा जारी गरेको संविधानको विरोध गर्नुमात्र हो।’ मोर्चामा संघीय समाजवादी फोरम नेपाल, तराईमधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराईमधेस सद्भावना पार्टी छन्।

मोर्चाका एक शीर्ष नेताले भने, ‘चिनियाँ राष्ट्रिय झन्डा मोर्चा संलग्न दलले जलायो भन्नु मधेस आन्दोलनविरुद्ध प्रोपोगन्डा हो।’ उनले विदेशमा भए मित्रराष्ट्रको झन्डा जलाउने कार्यलाई राज्यले गम्भीर रूपमा लिँदै कारबाही गरिसक्ने बताए।

स्रोतका अनुसार फोरम नेपालकी नेत्री रेणु यादवले मोर्चा बैठकको सुरुमा आफ्नो दलका अध्यक्ष यादवको राजनीति अन्त्य गर्ने उद्देश्यका चिनियाँ झन्डा जलाउने कार्य भएको भन्दै आक्रोश पोखेकी थिइन्।

उनलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘उपेन्द्रजीको राजनीति बिगार्ने उद्देश्यका साथ सद्भावना पार्टीका कार्यकर्ताबाट मोर्चाका कार्यक्रममा चिनियाँ झन्डा जलाउने कार्य भएकाले त्यस्ता व्यक्तिमाथि कारबाही हुनैपर्छ। राज्यसँग हिम्मत भए कारबाही गरोस्।’

फोरम नेपालका अध्यक्ष यादवले अत्यन्त आक्रोशित हुँदै झन्डा जलाउने कार्यमा संलग्न सद्भावनाका कार्यकर्तालाई कारबाही हुनैपर्ने अडान राखेका थिए। प्रत्युत्तरमा सद्भावनाका अध्यक्ष महतोले टेबुल ठोक्दै आफ्नो पार्टीका कार्यकर्तामाथि झुट्टा आरोप नलगाउन यादवलाई चेतावनी दिएको स्रोतले बतायो।

आन्दोलनरत मोर्चाका दुई हस्ती यादव र महतोबीचको आरोपप्रत्यारोप अन्त्य गर्दै तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तीन दलले मधेसी, थारू र जनजातिविरुद्ध घोषणा गरेको संविधानविरुद्ध जारी आन्दोलन निर्णायक बनाउने कार्यबाहेक अन्य विषयमा प्रवेश नगर्न आग्रह गरेका थिए।

मोर्चा सम्बद्ध चारै नेताहरू अन्ततः चिनियाँ राष्ट्रिय झन्डा जलेकोमा भत्र्सना गर्न सहमत भएका थिए। मोर्चा बैठकपछि फोरम नेपालका अध्यक्ष यादवले यसबारे चिनियाँ दूतावासमा जानकारी गराएको स्रोतले दाबी गर्‍यो। तर नेत्री यादवले भने यसबारे आफूलाई जानकारी नभएको बताइन्।

चिनियाँ झन्डा जलाउने कार्यको भत्र्सना गर्न सहमति भएपछि सद्भावनाका अध्यक्ष महतोले एकाएक ड्राफ्टमा आन्दोलनका क्रममा कुनै पक्षबाट मित्रराष्ट्र भारतको झन्डा जलाएको विषयसमेत समेट्न माग गरेका थिए।

महतोले आफूहरूको आन्दोलनविरुद्ध सरकारबाट भएको घूसपैठले विगतमा भारतको राष्ट्रिय झन्डा जलाएको दाबी गरेका थिए। अन्ततः बैठकले एकमतका साथ मोर्चाको कार्यक्रममा चिनियाँ झन्डा जलेको विषयमा भत्र्सना गर्ने निर्णय गर्दै विज्ञप्ति जारी गर्‍यो।

मोर्चाको बैठकमा चिनियाँ राष्ट्रिय झन्डा जलाएको विषयप्रति दुःख व्यक्त गर्दै फोरम नेपालकी नेत्री यादवले मित्रराष्ट्र चीनको मात्र नभएर कुनै पनि देशको राष्ट्रिय झन्डा जलाउने, मित्रराष्ट्रका नागरिकमाथि दुव्र्यवहार गर्ने कार्य ठिक नहुने बताइन्।

उनले भनिन्, ‘आन्दोलनको नीति र उद्देश्यविपरीत काम गर्ने अधिकार कुनै पनि आन्दोलनकारी शक्ति र पार्टीमा हुँदैन।’ चीनको राष्ट्रिय झन्डा जलाउनेलाई राज्यले कारबाही गर्न सक्ने उनले बताइन्। सद्भावनाका महामन्त्री मनीषकुमार सुमनले आफ्नो पार्टीले दुई देशको मित्रतामा असर पर्ने कुनै काम नगरेको र कहिल्यै नगर्ने दाबी गरे।

उनले एक प्रश्नको उत्तरमा भने, ‘आन्दोलनका क्रममा कसैले आक्रोशका साथ गरेको कार्यलाई लिएर कारबाही हुन सक्दैन। त्यस्तै कारबाही गर्ने हो भने प्रमुख तीन दलका नेताकार्यकर्तालाई गर्नुपर्छ।

उनीहरूले कतिपय विषयमा मित्रराष्ट्रका झन्डा च्यात्ने र जलाउने कार्य गरेका छन्।’ मोर्चाको बैठकमा चार दलबीच कुनै आरोपप्रत्यारोप भएको आफूले स्वीकार्न नसक्ने सुमनले बताए।स्राेत अन्नपूर्ण पाेस्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।