काठमाडौं, ५ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले गरेको नाकाबन्दीले नेपालीहरुको स्वाभिमान मा कुनै असर नपर्ने बरु नागरिकबिच देशभक्तिको भावना सहित दर्विलो एकता हुने बताएका छन् ।
नेकपा एमालेले मंगलबार संविधान निर्माण भएको खुसियालीमा राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै दाहालले नेपालको सार्वभौमिकता माथि चुनौती दिने कुनै पनि अन्तर्राष्ट्रिय गतिविधि कदापी स्विकार्य नहुने बताएका छन् ।
उनले सबै नेपाली एकजुट भएर ‘भारतिय हस्तक्षेप र गैरकुटनीतिक रवैया’ को डटेर सामना गर्नुपर्ने बताए । ‘नेपाली जनताका प्रतिनिधिले संविधान निर्माण गर्दा कसैले नाकाबन्दी गर्छ भने हामी आत्तिनु पर्दैन’, दाहालले भने,‘ गाडीको साटो बरु साइकल चढिन्छ, देशभक्ति लिलामी गरिँदैन । ’ उनले आजै साँझ प्रमुख दलहरु बसेर आगामी रणनिती तय गर्ने बताएका छन् ।
उनले आफु भारतसँग लडाई झगडा गर्ने मनस्थितिमा नरहेको तर राष्ट्रको स्वाभिमान र आत्मसम्मानमाथि प्रहार हुन्छ भने शिर निहुराउँदै नवस्ने बरु प्रतिवाद गर्ने बताए ।
मन्तव्यका क्रममा प्रचण्डले भारतसित सुगौली सन्धिदेखि यता शिर निहुरीएको स्मरण गरेका थिए । आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिमका मुद्धा देशको आन्तरिक मामला भएको हुदाँ यसको समाधान पनि नेपाली राजनीतिक दलहरुले नै गर्ने दाहालको कथन थियो ।