0 COMMENTS

 काठमाडौं, ५ असोज / केही दिन अगाडि सशस्त्र समूह अखिल तराई मुक्ति मोर्चाका संयोजक जय कृष्ण गोईतले निहत्था मधेशी जनताको हत्याको बदला लिने उद्घोष गरेका थिए । त्यस्तै, मधेश मुक्ति टाईगर्सका अध्यक्ष राजन प्रताप (प्रफुल्ल) ले पनि आफूहरु निष्क्रिय भएकै कारण नेपाली प्रहरी र सेनाले मधेशीको हत्या गर्न सम्भव भएको ठहर गर्दै फेरि सक्रिय हुने चेतावनी दिएका थिए ।

जारी मधेश आन्दोलन निष्कर्षमा नपुगेर लम्बिँदै गएपछि पूर्णतया निष्क्रिय र भूमिगत भइसकेका मधेशका सशस्त्र समूहहरु फेरि सक्रिय हुन थालेका छन् ।

कुनै बेला तराई मधेशमा सक्रियतापूर्वक लागेका तीनवटा सशस्त्र समूहबिच मोर्चाबन्दी भएको छ । अखिल तराई मुक्ति मोर्चाका जय कृष्ण गोईतको संयोजकत्वमा तीनवटा सशस्त्र समूहबिच मोर्चाबन्दी भएर संयुक्त मुक्ति मोर्चा गठन गरिएको छ ।

जय कृष्ण गोईतको अखिल तराई मुक्ति मोर्चा, राजन प्रताप (प्रफुल्ल)को मधेश मुक्ति टाईगर्स, तराई र नागराजको तराई कोबराबिच मोर्चाबन्दी भएको हो । सशस्त्र समूहहरुले आफूहरु मधेशमा निष्क्रिय भएको अवस्थामा नेपाली शाषकले सेनाको बुट र बन्दुकको बलमा मधेशी जनतालाई निष्तेज पारेको ठहर गर्दै फेरि सक्रिय हुने निर्णय गरेको छ ।

रौतहट जिल्लामा अज्ञात स्थलमा दुई दिनको गम्भीर र गोप्य छलफलपछि सशस्त्र समूहले मोर्चाबन्दी गर्ने निर्णय गरेको खुलस्त पारेको छ ।

नेपाली शाषकले मधेशी जनताको लाशमाथि टेकेर नेपालको संविधान निर्माण गरेको र सेनाकै सहाराले मधेशी जनतामाथि थोपर्ने दुस्साहस गरेको भन्दै त्यसको प्रतिकार गर्न मोर्चाबन्दी गरिएको सशस्त्र समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त मुक्ति मोर्चाले तराई मधेशका सम्पूर्ण मुक्तिकामी संघ संगठन र व्यक्तिलाई मोर्चामा आबद्ध हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।