काठमाडौँ, ४ असोज / ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ…’ भन्ने गीतको धुन बजिरहेको थियो । सो धुन घन्किरहँदा युवाहरू स्वरमा स्वर मिलाइरहेका थिए भने हातमा राष्ट्रिय झण्डा बोक्दै एक आपसमा संविधान निर्माणको खुसी साटासाट गर्दै थिए ।
यो दृश्य सैनिक मञ्च टुँडिखेलको हो, जहाँ ‘नेपालको संविधान, २०७२’ जारी खुसियालीमा आज नेपाल सरकारले ऐतिहासिक स्वागत समारोह आयोजना गरेको थियो । उक्त खुसियालीमा आयोजित समारोहका कारण बिहानैदेखि सैनिक मञ्च र यस आसपासको क्षेत्रमा छुट्टै रौनकता देखिन्थ्यो ।
अपराह्न १ बजेदेखि हुने भनिएको समारोहका लागि काठमाडौँका शान्तिबाटिका, प्रदर्शनीमार्ग, बागबजारलगायत स्थानमा विभिन्न दलका कार्यकर्ता तथा सर्वसाधारण जम्मा भएका थिए ।
समारोह आरम्भ हुनुपूर्व भद्रकालीबाट निस्केको पदयात्रामा नेवारी संस्कृतिको मौलिकताले युक्त झीगु सिंर वाजा खलः नैकापको सांस्कृतिक प्रस्तुति हेर्न लायक थियो ।
समारोहमा सहभागी हुन काठमाडौँ उपत्यका र आसपासका जिल्लाका विभिन्न सर्वसाधारणका साथै निजामती कर्मचारी तथा राष्ट्रसेवकको चहलपहल उत्तिकै देखिएको थियो । समारोहका लागि नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्दा सर्वसाधारण निकै उत्साहित बनेका थिए ।
त्यस्तै समारोह आरम्भ हुनुपूर्व केही समय परेको पानीको पर्वाहसमेत नगरी सर्वसाधारण धैर्यतापूर्वक बसेका देखिन्थे । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायका साथै विभिन्न समुदायबाट विविधताले युक्त संस्कृतिको शोभाले अझै उत्साह थपेको देखिन्थ्यो ।
कार्यक्रम सम्पन्न भएपछि पनि करिब १० मिनेटको समयावधिसम्म सर्वसाधारणहरू ‘यो जित कसको जनताको’, ‘हाम्रो संविधान राम्रो संविधान’, र ‘हिमाल, पहाड तराई, कोही छैन पराई’ जस्ता राष्ट्रवादी नारा लगाउँदै राष्ट्रिय एकताको प्रदर्शन गरेका थिए ।
सरकारले आह्वान गरेअनुसार समारोहमा निजामती कर्मचारी कार्यालयको व्यानरसहित पदयात्रामा सहभागी थिए । विभिन्न दलका लागि निश्चित ठाउँहरूबाट पदयात्रा निकाल्ने तय भएअनुसार पार्टीका झण्डासहित नेता तथा कार्यकर्ता पनि लामबद्ध देखिन्थे ।
नेपाली परम्परागत थारु नृत्य, राई, लिम्बूको मौलिक संस्कृति, तामाङ सेलो, मगर कौडा जस्ता नृत्य तथा झाँकीले समारोह थप रोमाञ्चित बनेको थियो । संविधानसभाबाट संविधान जारी गर्नु नेपाली जनताको महत्वपूर्ण जित भएको स्वागत समारोहमा सहभागी सर्वसाधारणले धारणा व्यक्त गरेका थिए । संविधान जारी भएको खुसियालीमा सरकारले सार्वजनिक बिदा दिएका कारण पनि विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरू पनि झाँकीमा सहभागी देखिन्थे ।
काठमाडौँको थानकोटबाट समारोहमा सहभागी भएका हरिकृष्ण बस्नेत नेपाली जनताको ऐतिहासिक जित भएको अवसरमा खुसी मनाउन आफू सैनिक मञ्च आएको बताउनुभयो । “हिजो स्थानीय टोलमा नै संविधानको खुसियालीमा दीपावली गर्यौँ, यसले सबैलाई खुसी तुल्याएको छ,”– उहाँले भन्नुभयो ।
दोस्रो लोकतान्त्रिक आन्दोलनमा सक्रिय भएर सडकमा उत्रेको सम्झँदै धादिङ घर भई त्रिचन्द्र क्याम्पस पढ्ने दीपक अधिकारी आन्दोलन सफल भएको लगभग १० वर्षको अनवरत प्रयासबाट नेपालका राजनीतिक दलले देशलाई संविधान दिनु देशवासीका लागि निकै खुसीको कुरा भएको बताउनुहुन्छ ।
संविधानसभाको चर्चा सुरु भएको लगभग साढे छ दशकको प्रयासमा नेपालले आफ्ना जनप्रतिनिधिबाट संविधान बनाउनु ठूलो उपलब्धि भएको उहाँको धारणा छ । उहाँजस्तै स्वागत समारोहमा कीर्तिपुरबाट सहभागी दिनेश महर्जनले नेपालले नयाँ संविधान प्राप्त गरेका कारण अब सबैको प्रयासमा देशलाई आर्थिक विकासतर्फ अघि बढाउनुपर्ने बताउनुभयो ।
स्वागत समारोहका लागि सैनिक मञ्चभित्र मात्र नभएर पुरानो बसपार्क, नेपाल वायुसेवा निगम आसपासका आकाशे पुलमा समेत सर्वसाधारणको उत्तिकै भिड देखिन्थ्यो । वासुदेव पौडेल र दीपेन्द्र सापकोटा/रासस