0 COMMENTS

 

shibani
शिवानी रानी

आफ्नो अभिष्ट पुरा गर्न, बैंश पोख्ने ठाउँ नपाउदा कसैले कुनै युवतीलाई सोध्दैन कुन जातकी भनेर। अझ जबर्जस्ति गर्न तम्सिन्छन ब्वाँसाको जस्तो रुप लिएर। गुहुमा किरा गाडिए जसरि गाडिन्छन् हाम्रो शरीरमा। तर त्यसैलाई आफ्नी श्रीमती बनाउन यिनलाई संस्कारले रोक्छ रे। यिनलाई दलित पछाडी हिडेको मनपर्छ, सँगै हिड्नु हुँदैन।

     

 

 

 

मलाइ अचम्म लाग्छ, जब कोहि दलितको घरमा केहि पवित्र कार्य हुन्छ। कथित ठुला जातकाले फलफुल प्रसाद बाहेक अरु खाँदैनन। फलफुल छोइदैन अरु छोइन्छ रे! दलितको घरमा पालेका सुँगुर, खसी बोका, कुखुरा खान हुन्छ रे, तर उसले छोएको खान हुँदैन रे। उनीहरुले खसी बोका के रिमोटले चल्ने बनाएर पालेका हुन्छन् र ? दलितको खेतमा फलेको अन्न खान हुने, उसको धाराको पानि पिउन हुने, छोएको खान नहुने रे! कति हास्यास्पद छ है चलन? मेरो गाउँका प्राय दलितहरु रक्सि पार्छन र बजारका भट्टीवालालाई बेच्छन। त्यहि रक्सीले मातेर सुतेका उपल्लो जातिका महामानवहरु भोलिपल्ट बिहान उठेर एक आम्खोरा पानीले जिउ पखाल्छन्, जनै मुसार्छन र चोखिन्छन्। उपल्लो जातमा जन्मिएकाहरू जति मैलिए पनि नुहाएर चोखिन्छ्न। सुनपानी र जप गरेर दुरुस्त हुन्छन्त। र जिन्दगीभर सत्कर्म गर्ने दलितहरु किन कहिल्यै पवित्र हुनसक्दैनन? यो प्रश्नको जवाफ धर्म संस्कार र समाजको ठेक्का लिएका आफुलाई महान सम्झिने पात्रहरुले दिनुपर्दछ।

म बुझ्दछु शायद अन्जली यतिबेला आत्महत्या गर्नेबारे सोच्दैछे। नभएपनि उसलाई यो समाज र यसका देखावटी रिति रिवाजप्रति रुष्ट छे। जसलाई उसले आफ्नो सर्वस्व सुम्पिएकी थिइ उसैले आज नगरेको गल्तिको सजायँ दियो। दलितको कोख अन्जलीले रोजेर पाएकी होइन। न कसैले उपाध्यायको कोख रोजेर या आफ्नो मिहेनतले पाएको हो। जुन कार्यमा आफ्नो केहि योगदान छैन त्यसमा घमण्ड किन गर्ने? अन्जलीलाई हौसला र ढाडस दिनेकाम मेरो लागि गाह्रो काम हो। उसलाई एकदिन पक्कै छुवाछुत र भेदभावको अन्त्य हुन्छ भनेर धेरैपटक हामीले ढाडस दियौं। समय झन्डै दश बर्ष बित्यो तर आज हामी उही स्थानमा, उस्तै समस्यामा छौं। अब फेरी त्यहि कुराले उसलाई दिलासा दिएँ भने उसले पत्याउने छैन। उसको नजरमा मेरा कुरा फोस्रा हुनेछन। दशबर्ष अघि एउटी साथीले आफ्नी दिदीको बिहेमा बोलाएकी थिइ हामि सबैलाई मिल्ने साथी भएकोले उसकी दिदी हामीलाई पनि प्यारो गर्थिन्।

अन्जलीले त आउदिन भन्दापनि दिदी आफैले जसरि पनि आउनु पर्छ भनेकी थिइन्। बेहुली निकाल्नु केहि अघि पुगेका हामीलाई बेहुली हुँदा दिदी कस्ती भईन भनेर हेर्ने रहर थियो, जो सबै केटीलाई हुन्छ। बेहुलीलाइ सिगार्ने मौका पनि पाइन्छ भनेर हामि चारपाँच जनाको हुल हुरुरु बेहुली राखेको कोठामा पस्यौं। बेहुली हेर्दै मात्रै थियौं बेहुलीकी हजुरआमाले अन्जलीलाइ भन्नु नभन्नु भनिन्। आफ्नो साथीको कोठामा पस्नु उनको अपराध थियो।

भन्नलाई त हजुरआमाले “बाहुनको घरमा के भनेर पस्छेस ए कमिनी” भनिन्त। र हामि बाहुनको घरमा पसेका क्षेत्रिनी, लिम्बुनी, कमिनी र नेवारनीहरु पसेका थिएनौं। हामि त साथीको घरमा पसेका साथीहरु थियौं। हजुरआमाले चिन्न सक्नुभएन, निम्तो गर्ने साथीले रोक्न खोजिन तर उ निरिह भई। त्यसबेला बिहेको कार्यक्रम बहिष्कार गरेर हिडेका हामीहरु असाध्यै दुखी भयौं। अन्जलीले बरु सामान्य बन्ने प्रयास गरि हुनसक्छ यो उसको दैनिकी थियो। तर हामि उसका साथीहरुलाई ज्यादै नरमाइलो लाग्यो। बिहेमा आएका धेरै मान्छेहरुका अगाडी त्यसरी गरेको बेइज्जती हामीले त भुल्न सकेका छैनौँ भने उसले झन् कसरि सक्थी होला र? अहिले उसले प्रेम गरेको मान्छे पनि कथित उपल्लो जातीको हो। शायद उसले प्रेममा प्रेम मात्रै देखि होला, जातभात देखिन। त्यस्तो बेला कसैले पनि जातभात, उमेर, क्षेत्र, वर्ण र वर्ग हेर्दैन। हेरियो भने त्यो प्रेम हुनैसक्दैन, सम्झौता हुन्छ।

यतिबेला म अन्जलीलाइ के भनेर सम्झाउने भनेर सोच्दै छु। भोलि म काठमाडौं पुग्छु, उसकोमा जान्छु। मलाइ भेटेपछि उ झन् धेरै रुनेछे। यहाँ उसको आत्मसम्मान र हौसला मात्रै होइन मनमुटु सबै लुटिएको छ। यो देशमा केटि भएर जन्मिनु एउटा अभिसाप हो। झन् ग्रामिण भेग, पुरातन र रुढिबादी सोच भएको समाजमा जन्मिनु अर्को अपराध हो। झन् दलितको कोखमा जन्मिनु अर्को पाप हो। यी सबैको सजायँ भोगिराखेकी छे अन्जली। अब मैले बिद्रोह गर्नुको बिकल्प देख्दिनँ। म नभए कोहि न कोहि त बोल्नैपर्छ। आज नभए भोलि त बोल्नैपर्छ। अन्जली, अब हामीले चुनौती दिनुछ यो समाजलाई र यसका टाउकेहरुलाई। तिमीहरुले बनाएको नियम, तिमीहरुले लादेको संस्कार हामीलाई स्वीकार्य छैन। तिमीहरुले बिना पौरख पाएको तिमीहरुको जात तिम्रा बाउ बराजेले कुनै युद्ध जितेर पाएका होइनन्। जबर्जस्ति लादिएको यो जात हामि अब त्यागीदिन्छौं।

मर्ने बेलामा घिटघिट हुँदा रगत दिनेको जात कसैले सोध्दैन। दवाई कुन जातको मान्छेले दियो कसैले खोज्दैन। किनकि त्यो बेला तिमीहरुलाई बाँच्नु मुख्य कुरा हुन्छ। अन्जली, यी सबै ढोंगीहरु हुन्। तिम्रा डाक्टर मामाले दलित भएपनि दिएको स्लाइन र सिटामोल यिनलाई चल्छ तर तिमी घरमा पसेको सहदैनन। आफ्नो अभिष्ट पुरा गर्न, बैंश पोख्ने ठाउँ नपाउदा कसैले कुनै युवतीलाई सोध्दैन कुन जातकी भनेर। अझ जबर्जस्ति गर्न तम्सिन्छन ब्वाँसाको जस्तो रुप लिएर। गुहुमा किरा गाडिए जसरि गाडिन्छन् हाम्रो शरीरमा। तर त्यसैलाई आफ्नी श्रीमती बनाउन यिनलाई संस्कारले रोक्छ रे। यिनलाई दलित पछाडी हिडेको मनपर्छ, सँगै हिड्नु हुँदैन। हुनत अन्जली म पनि तिमीलाई पींडा दिने पीडक जातको हुँ। मैले पींडा नदिए पनि मेरा सजातियहरुले तिमीलाई सदियौं देखि सहिनसक्नु पींडा दिए। तर अब मलाइ मेरो जातमोह छैन। हो, मलाइ घिन लाग्छ मेरो उपल्ल्लो भनिएको जातसंग, मैले बिना मिहेनत पाएको यो जात यहि समाजलाई फिर्ता दिन्छु। थुक्क मेरो जात! जोवन चल्ने, भोजन नचल्ने।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।