काठमाडौं, १ असोज । अमेरिकी राज्य टेक्ससमा डिजिटल घडी बनाएको आरोपमा एक मुसलमान छात्रलार्इ उनको स्कुल प्रशासनले प्रहरी बोलार्इ हतकडी लगाएर हिरासतमा बस्न बाध्य बनाएको छ ।
उनको स्कुलमा शिक्षकले ती छात्रले बम बनाए गलत खबर पाएको आधारमा उनलार्इ प्रहरी हिरासतसम्म पुर्याइएको खबरले अहिले अमेरिकामा नयाँ तरंग ल्याएको छ ।
१४ वर्षीय अहमद मोहम्मदको गिरफ्तारीको खबर सार्वजनिक भएपछि अमेरिकामा सामाजिक बहस नै छेडिएको छ ।
डिजिटल घडी बनाउने बालक बम बनाएको अभियोगमा पक्राउ परेपछि राष्ट्रपति बाराका ओबामा, राष्ट्रपतिकी उम्मेद्वार हिलारी क्लिन्टन र फेसबुकका मालिक मार्क जुकरबर्गसहित हजारौं मानिस ट्विटरमार्फत उनको समर्थन उत्रेका छन् ।
राष्ट्रपति ओबामाले ट्विटमार्फत ती बालकलार्इ व्हाइट हाउस आउने निम्ता नै दिए । उनले आफ्नो ट्वीटमा भनेका छन्, ‘धेरै राम्रो घडी बनायौं अहम, के त्यसलार्इ व्हाइट हाउसमा लिएर आउन चाहान्छौ ? अरु बच्चलार्इ पनि तिमी जस्तै विज्ञानमा रूचि बढाउनका लागि प्रेरित गर्न चाहन्छौं । यस्तै कुराले त अमेरिका महान बनिरहेको छ ।’
यो घटनालार्इ जातीय विभेद र इस्लामलार्इ लिएर स्कुल तथा अन्य मानिसले धेरै नकारात्मक भएर हेरिरहेका छन् । कयौं मानिस यी बालकलार्इ उनी मुसलमान र उनको नाम अहमत भएकै कारण बम बनाएको भन्दै नचाहिँदो शंका गरिरहेका छन् ।
टेक्ससको पुलिसले एक पत्रकार सम्मेलन गरेर अहमदमाथि कुनै किसिमको आरोप नलगाइएको दाबी गरेको छ ।
पुलिस प्रमुखले भने, ‘हामीलार्इ त्यस्तो कुनै सबुत मिलेको छैन, अहमदले बम बनाएको अफबाह फैल्याइएको बारे अनुसन्धान गरिरहेका छौं । तर अहिलेसम्म अहमदले बम बनाएको कुरा सरासर गलत हो ।’
उता आफ्नै घरमा पत्रकारहरुलार्इ बोलाएर गरिएको सानो पत्रकार सम्मेलनमा बोल्दै नौ कक्षाका छात्र अहमदले घडी बनाउँदा अफ्ठेरोमा परेको ब्यक्ति आफैं भएको स्पष्टिकरण दिए । ‘म नै हुँ त्यो मान्छे, जो घडी बनाएर अफ्ठेरोमा परेँ’, अहमदले मुस्काउँदै भने ।
अहमद म्याकार्थर हाई स्कुलमा केही दिनअघिबाट हाजिर हुन थालेका थिए । विज्ञान प्रविधिमा उनको खास रुची र चासो छ । उनले स्कुलमै एक सर्किट बोर्डको सहयोगमा एक डिजिटल घडी बनाएका थिए । उनले त्यो घडी एक पेन्सिल बक्समा जडान गरेर त्यसलार्इ इन्जिनियरिङ्गका शिक्षकलार्इ देखाए ।
स्थानीय सञ्चारमाध्यममा आएको अहमदको भनाइ अनुसार शिक्षकले उनको प्रशंसा गरेका थिए तर यो घडी अरु कसैलार्इ नदेखाउन पनि निर्देशन दिए ।
तर त्यही दिनको अघिल्लो कक्षामा घडीको घन्टी बज्न पुग्यो र उनले त्यो घडी अर्का शिक्षकलार्इ पनि देखाउनुपर्यो । ती शिक्षकले उनलार्इ यो घडी बम जस्तै देखिएको भन्दै अहमदबाट लिएर आफूले राखे ।
केही बेरमै उनलार्इ एक कोठामा लगियो । अहमदका अनुसार जहाँ पाँच-छजना पुलिस थिए । ती पुलिसले उनको झोला र शरीरमा रहेका सबै सामानको खानतलासी गरे । पुरा चेकजाँच गरेपछि उनलार्इ प्रहरीले सोधे, ‘ए तिमी बम बनाउने कोशिश गरिरहेका थियौ ?’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।