0 COMMENTS

Bam-Dev-Gautam_20140407091049काठमाडौँ, २० भदौ / सीमाङ्कनप्रति विरोध जनाउँदै देशका विभिन्न भागमा यसबीचमा भएका हिंसात्मक घटनामा १० सुरक्षाकर्मीसहित २९ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा मुलुकको शान्ति सुरक्षा र तराई–मधेसको स्थितिबारे सदनलाई जानकारी गराउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सुरक्षा कारबाहीमा १७ र बाटो हिँडेका दुई आन्दोलनकारी आक्रमणमा परी मारिएका बताउनुभयो ।

दुईवर्षे दूधे बालकलाई गोली हानेर मार्नेदेखि सुरक्षाकर्मीलाई ज्यूँदै आगो लगाएर मार्नेसम्मका नेपालको इतिहासमा आजसम्म नभएका बर्बर एवम् अति अमानवीय आक्रमण भएका र त्यसको जति निन्दा गरे पनि कम हुने गृहमन्त्रीले बताउनुभयो ।

सुदूरपश्चिम, मध्यपश्चिम, मध्यमाञ्चल र पूर्वाञ्चलका तराई क्षेत्रका विभिन्न भागका साथै जुम्ला, कैलालीको टीकापुर, बर्दिया, रौतहट, बारा, पर्सा, सप्तरीलगायत धेरै स्थानमा आन्दोलन शान्तिपूर्ण भए पनि केही स्थानमा अराजक र हिंसात्मक घटना भएको उहाँले बताउनुभयो ।

उहाँले सरकारी तथा सार्वजनिक सम्पत्ति तोडफोड र प्रहरी चौकीमा आक्रमण गर्ने, सरकारी कार्यालय, व्यक्ति र संस्थाका सवारी साधनमा आगजनीलगायत हिंसात्मक गतिविधि हुन नदिन सुरक्षाकर्मीले बारम्बार सम्बद्ध पक्षलाई आग्रह गर्दा पनि भीड नियन्त्रण हुन नसक्दा बाध्य भई गोली चलाउनुपरेको स्पष्ट पार्नुभयो ।

निषेधाज्ञा तोड्ने, प्रहरीलाई गोली हान्नेजस्ता गतिविधि बढेपछि शान्ति, सुव्यवस्था कायम गर्न प्रहरीले बाध्यात्मक परिस्थितिमा आत्मरक्षा तथा जनताको जीउधनको सुरक्षाका लागि कारबाही गर्नुपरेको उहाँले प्रष्ट गर्नुभयो ।

आन्दोलन अत्यन्त अराजक र हिंसात्मक बन्दै गएको र त्यस्ता गतिविधि हुन नदिन सरकार दृढ रहेको बताउँदै उहाँले शान्तिपूर्ण आन्दोलनबाट विमुख नहुन अनुरोध गर्नुभयो ।

अहिलेको समस्या राजनीतिक भएकाले त्यसको समाधान पनि राजनीतिक रुपमा नै गर्नुपर्छ भन्ने मान्यता सरकारको रहेको  स्पष्ट गर्दै उहाँले सङ्घीयताका नाममा मुलुक दलदलमा फस्न लागेको हो कि भन्ने चिन्ता जनतामा परेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।