धनकुट्टा, २१ साउन/ काउलीमा देखिएको क्लबरुट (जरामा गाँठो देखिने) रोग नियन्त्रणमा नआउँदा धनकुटाका किसान चिन्तित हुन थालेका छन् । ४ वर्षदेखि फैलिएको यो रोग अझै नियन्त्रणमा आउन सकेको छैन ।
तरकारीमा ‘क्लबरुट’ रोगतरकारीको राजधानीका रूपमा प्रसिद्धि कमाएका धनकुटाको परेवादिन, मूर्तिढुङ्गा, ताङ्खुवाको जोरपाटीलगायत क्षेत्रमा लगाइएको काउली वर्गअन्तर्गत बन्दागोभी, काउली र रायो सागमा लागेको उक्त रोग नियन्त्रणमा नआउँदा कृषक चिन्तित भएका हुन् । व्यावसायिक रूपमा तरकारी खेती गरिरहेका यहाँका सयौं किसानलाई अहिले तरकारीमा देखिएको उक्त रोगले समस्या बनाएको छ । यस क्षेत्रका किसानले तरकारी खेतीबाटै वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी भिœयाउँथे ।
‘क्लबरुट’ रोग नियन्त्रण गर्न जिल्ला कृषि विकास कार्यालय धनकुटा र पाख्रिवास कृषि अनुसन्धान केन्द्रले अनुसन्धान गरिरहे पनि हालसम्म पनि समाधान हुन सकेको छैन । ती कार्यालयले किसानलाई प्राविधिक सल्लाह मात्र दिन सकेका छन् । क्लबरुट सङ्क्रमित काउलीको बिरुवाको जरामा गाँठो पर्ने, विस्तारै पात कुहिएर मर्दै जाने र अरु बिरुवामा सर्ने गरेको परेवादिन सिँधुवाका किसान इन्द्रबहादुर श्रेष्ठले बताए । ‘अहिले तरकारी खेतीबाट किसानलाई कमाइ त पर जाओस्, लागत खर्च उकास्नसमेत गाह्रो परेको छ,’ उनले भने ।
गतवर्ष ९० हजार रुपैयाँ खर्चेर करीब ३० रोपनी जग्गामा लगाएको बन्दागोभीबाट खर्चसमेत उठाउन नसकेको उनको गुनासो छ । त्यस्तै धनकुटाकै मूर्तिढुङ्ङ्गा–२ का अर्जुन भण्डारीले २२ रोपनी जग्गामा लगाएको बन्दागोभीबाट यस वर्ष आम्दानी लिन नसकेको बताए । ‘मल, बीउ र खेतालामा मात्र डेढ लाख खर्चेको थिएँ, सबै बिरुवा उत्पादन नदिई मरे,’ उनले भने । समयसमयमा कृषि प्राविधिकहरू आएर सङ्क्रमित बिरुवा र माटोको परीक्षण गरे पनि समाधान दिन नसकेको सिँधुवाका अर्का किसान अर्जुन घिमिरेको भनाइ छ ।
एउटै बालीको धेरैपटक खेती भएको र बाहिरी जिल्लाबाट ल्याइएको कुखुराको मलको प्रयोगले क्लबरुट देखापरेको हुन सक्ने जिल्ला कृषि विकास कार्यालय, धनकुटाका बाली संरक्षण अधिकृत सूर्यप्रसाद सापकोटाले बताए । उक्त रोग निर्मूल पार्न चक्रीय बालीअन्तर्गत हरेक सिजनमा बेग्लाबेग्लै तरकारीखेती गर्नुपर्ने पाख्रिवास कृषि अनुसन्धान केन्द्रका प्रमुख रामनारायण चौधरीको सुझाव छ । ‘ती क्षेत्रको माटो परीक्षणमा अम्लीयपन ७ प्रतिशतबाट घटेर ५ दशमलव ५ प्रतिशतमा झरेको छ,’ उनले भने । बाली परिवर्तन गर्दै खेती गरेमा ६ वर्षमा रोग नियन्त्रणमा आउन सक्ने कृषि प्राविधिकको भनाइ छ ।