0 COMMENTS

गङ्गा पौडेल
मानिस जन्मेपछि शिशु अवस्था, बाल्य अवस्था, युवा अवस्था, प्रौढ अवस्था जस्ता विभिन्न चरणहरु पार गर्दै वृद्धावस्थामा पुग्दछ । यो प्रकृतिको नियमै हो । तैपनि अघिल्लो चरणमा भएका मानिसहरु यहाँसम्म पुगिएला भनेर प्रायः कसैले सोच्ने गरेका हुँदैनन् । त्यसकारण वृद्धवृद्धाप्रति उनीहरुले गर्नु पर्ने आदरपूर्वक व्यवहारमा खडेरी परेको देखिन्छ । आफू सधँै जवान रहन्छु भनेझँै गरी वृद्धवृद्धाहरुको अगाडि शेखी गर्छन् । यो उनीहरुको अज्ञानताले गर्दा हो ।
हाम्रो देशमा जेष्ठ नागरिक ऐन २०६३ मा ६० वर्ष उमेर कटेका नागरिकलाई जेष्ठ नागरिक भनी परिभाषित गरेको पाइन्छ । बोलीचालीको भाषामा जेष्ठ नागरिकलाई वृद्धवृद्धा अथवा बूढाबूढी पनि भनिन्छ । यस उमेरका सबै वृद्धवृद्धाहरु अशक्त हुँदैनन् कोही त ८० वर्ष पुगेका पनि ठमठम हिँड्न सक्ने, आफ्नो दैनिकी आफै चलाउन सक्ने हुन्छन् भने कोही अरुको सहाराविना केही गर्न नसक्ने पनि हुन्छन् । यो उनीहरुको स्वास्थ्य तन्दुरुस्तीमा भरपर्ने कुरा हो । खासगरी ६० वर्ष उमेर पुगेपछि सरकारी जागिरबाट मुक्त हुनु, घरमा परिवारजनको हालीमुहाली बढ्दै जाने हुनाले वृद्धवृद्धाहरुले आफू ओझेलमा परेको महसुस गर्न थाल्छन् ।
कान कम सुन्नु, आँखा कमजोर हुँदै जानु, शरीरमा पहिलाको जस्तो ताकत नहुँदा क्रमशः शारीरिक रुपमा कमजोर हुँदै जाँदा मानसिक रुपमा कमजोर भई हरेस खान पुग्दछन्, वृद्धवृद्धाहरु । त्यसपछि अरुको भर पर्नुपर्ने हुन्छ । आफूले भर विश्वास गरेका मान्छेले भनेजस्तो काम नगरिदिँदा औधि चित्त दुखाउँछन् । जीवनदेखि नै विरक्त मान्छन् अनि भन्न थाल्छन् – “यो बुढयौली नआएको भए हुन्थ्यो ।”

उमेर छउन्जेल बलले थिचेर काम गरेर आफ्ना बालबच्चा जहान परिवारको भरण पोषण गर्दै आएकोमा विस्तारै आफू अरुमाथि निर्भर हुनुपर्ने अवस्था आई पर्दा वृद्धवृद्धाहरु आफूलाई परिवारको बोझ हुन पुगेको अनुभव गर्न थाल्दछन् । त्यसैगरी परिवार जनले पनि पहिला यथेष्ट कमाई गर्ने बाबुआमाबाट आम्दानी शून्य भएपछि उनीहरुप्रति हेय भावना पलाउँछ अनि झर्को फर्को पनि सुरु गर्दछन् । उनीहरुलाई आदर सम्मान गर्नुको सट्टा दुव्र्यवहार गर्छन् । यसो गर्नु सरासर गलत हो । आफ्ना ज्यानको परवाह नगरी रगत पसिनाले सिंचेर हामीलाई हुर्काउने उहाँहरु हाम्रै अग्रज हुनुहुन्छ । जसले औला समातेर हिड्न सिकायो । जीवन जिउने कला सिकायो उहाँलाई बुढेसकालमा सहारा दिनुको सट्टा पुरानो विचारको भनी खिल्ली उडाउनु, उहाँहरुको अनुभव, अनुभूतिबाट ज्ञान लिनुको सट्टा उपेक्षा गर्नु मूर्खता ठहर्छ । वृद्धवृद्धा हुनु उहाँहरुको दोष होइन । युवा पुस्ताले बुझ्न सक्नुपर्छ भाेिल आफ्नो पनि यही हाल हुन्छ भनेर । जीवन भर आफ्नो बलबुताले भ्याएसम्म श्रम गरी आफ्नै जीवन शैली अपनाएर आएका वृद्धवृद्धालाई छोरा छोरीको बिहापछि घरमा एक्कासी आएको परिवर्तनमा आफूलाई सजिलै ढाल्न सक्तैनन् । वर्षौदेखि खाँदै आएको खानाको स्वाद, लाउँदै आएको वस्त्रको ढाँचामा अहिले आएर कसैले टीका टिप्पणी गर्छ भने उनीहरुलाई सह्य हुँदैन । त्यसपछि “अन्तरपुस्ता खाडल” झन् गहिँरिदै जान्छ र मनोमालिन्य बढ्दै जान्छ । वृद्धवृद्धाहरुले छोरा बुहारीलाई टेरेनन् भन्छन् छोराबुहारीले बाआमाले हामीलाई बुझ्नु भएन भन्छन् अनि सानै कुराबाट घर कलह सुरु हुन्छ ।

खासगरी उमेरमा कसरी राम्रो देखिऊँ । अरुको अगाडि कसरी आकर्षक बनूँ भनेर नयाँ पुस्ता खर्चको परवाह नगरी आफूलाई देखाउने होडमा धन र समय खर्चिन्छन् भने वृद्धवृद्धा भएपछि के गर्दा सजिलो हुन्छ ? कसरी कम खर्चमा जीवनलाई अगाडि बढाउन सकिन्छ भन्ने तर्फ ध्यान दिन्छन् । देखावटी राम्रो चाहिँदैन उनीहरुलाई ।

आफूले खाई नखाई एकएक पैसा जम्मा पारेर जोडेको सम्पत्ति सरसामान घरका परिवारले जतनसित चलाऊन् भन्ने लाग्छ । तर आफ्नो मेहनत नपरेको त्यस्ता सरसामान नयाँ पुस्ताले बडो निर्ममतापूर्वक भत्काउने, भाँचकुच गरी आफू अनुकूल बनाउन खोज्दा वृद्धवृद्धाको मुटु चसक्क चस्किन्छ । उनीहरुले जोडेका त्यस्ता सामानसित विविध प्रकारका घटना र इतिहास जोडिएको हुन्छ त्यसले गर्दा ती चिजहरु आफ्ना आँखाअगडि सकुशल भएको हेर्ने चाहना हुन्छ । त्यसै गरी घरमा आएका पाहुनालाई आफूले जस्तै बुहारीले पनि सेवा, सत्कार गरुन भन्ने इच्छा हुन्छ । पुस्तौदेखि सम्बन्ध गाँसिएका पाहुनाहरु आफूलाई भेट्नकै लागि कहाँदेखि आएका हुन्छन् तिनीहरुलाई आफूले भने जस्तो स्वागत सत्कार नगरिदिँदा मन खिन्न हुन्छ । त्यसपछि झट्पट उठेर आफूले केही गर्न नसक्दा हीनता बोध भई

बेकारमा बाँचिएछ  हात खुट्टा चल्दै मर्न पाएको भए हुन्थ्यो भनेर दुःख व्यक्त गर्छन् वृद्धवृद्धाहरु ।
सम्पन्न घर परिवार भएका वृद्धवृद्धाहरुका लागि खान, लाउन, औषधि उपचारमा त्यति कठिनाइ नपर्ने भएपनि कुनैले त वृद्धवृद्धाको उपचार गर्नु भनेको व्यर्थै धन खर्च गर्नु भने झै व्यवहार गर्छन् । सकेसम्म उपचारमा आलटाल गर्छन्, गरेपनि सस्तो अस्पतालमा लैजान्छन् । घरका आर्थिक अवस्था दरिलो नभएकाहरुलाई त झन् आफ्नो शरीर आफैलाई बोझ लाग्न थाल्दछ । आफूसँग भएको सबै सिरीखुरी सम्पत्ति छोराबुहारीको हातमा सुिम्पसकेको हुँदा उनीहरुका अडकलमा

चल्नुपर्ने हुन्छ । त्यसकारण आफ्नै अवस्थाबाट आजित हुन पुग्दछन् वृद्धवृद्धाहरु ।
यस्तै अवस्थाकी स्याङ्जा निवासी ८० वर्षीया हिमा कुमारी भन्नुहुन्छ “उमेर छँदा रातदिन नभनी काम गरियो । दुःख गरेर आफैले आर्जन गरेको धनले घरजग्गा जोडे । राम लछुमन जस्ता दुई भाइ छोरा भए । सुख भोग गर्ने बेलामा बूढा परलोक हुनु भो । अहिले जे जति भएको छोरा बुहारीको हात छ । मलाई उनीहरुसित हात थाप्न मन लाग्दैन । सकेको बेलामा आफूले सबैलाई बाँडेर हात माथि गरेर बसियो अहिले आम्दानीको बाटो नहुँदा एक गेडो स्याउ र खुट्टामा लाउने एकजोर चप्पल पनि मेरा लागि महङ्गो भएको छ । जिउमा रोग लाग्यो,पहिलो चोटि दुईलाख खर्च अरेर छातीमा ब्याट्री (पेसमेकर) राखें । छ वर्षपछि त्यसलाई फेरेर अर्को राख्दा धेरै खर्च भयो । त्यो सबै मैले बूढाको कमाइले नै गरें । छोरा त छ नि तर आफ्नै परिवारको धनी छ । छोरी जन्माइनँ मैले । छोरी भएकी भए आमाको पिरमर्का बुझ्थी होला । घरभरि जहान छन् तर म आफूलाई एक्लै छु भने जस्तो लाग्छ । नितान्त एक्लै । जे जस्तो भएपनि आफ्नो बूढो बाँचिरहे हुन्थ्यो भन्ने लाग्दो रहेछ ।

राज्य ब्यवस्थामा के छ त ?
नागरिकहरु सक्षम छँदा आफूले आर्जन गरेका रकमबाट केही अंश राज्यलाई कर तिरेका हुन्छन् यो क्रम पहिलेदेखि चलिआएको छ । त्यसरी कर तिरेपछि नागरिकप्रति राज्यले पनि वृद्धवृद्धाहरुको लागि केही गर्नुपर्ने दायित्व हुन आउँछ । हाम्रो देशमा जेष्ठ नागरिक सुरक्षा ऐन २०६३ अन्तरगत सार्वजनिक यातायात भाडामा ५० प्रतिशत छुट हुनुपर्ने प्रावधान छ तापनि यो कागजमा मात्र सीमित छ । व्यवहारमा छैन । सार्वजनिक यातायातका साधनहरुले भाडा छुट गर्नु त परै जावस् बूढाबूढी देखे भने गाडी नै रोक्दैनन् । रोकिहाले भने पनि भित्र बस्ने सिट पाउँदैनन् । वृद्धवृद्धालाई देखेर भुसतिग्रेहरु पनि सिट छोड्दैनन् । नागरिक सुरक्षा भत्ता मासिक ५००।– उपलब्ध गराउँछ त्यतिले न भातखान पुग्छ न ओखती खान पुग्छ भनेर गुनासो गर्छन् वृद्धवृद्धाहरु । हुन पनि हो यस्तो महँगीमा त्यति रकम “हात्तीको मुखमा जीरा” भने झै हुन्छ उनीहरुको लागि । कम्तीमा पनि दिनको एकसय भएमा माडसम्म मुखमा पर्न सक्ने थियो । औषधि उपचार त झन् वृद्धवृद्धाका लागि पहुँच भन्दा बाहिरको कुरा हो । यस्तो अवस्थामा राज्यले हेर्नुपर्छ । कानुन बनाएर मात्र पुग्दैन कडाइकासाथ लागु पनि गर्न सक्नुपर्दछ । आज कानुन बनाउनेहरु, राज्यसत्तामा आसिन व्यक्तिहरु प्नि एकदिन वृद्ध अवस्थामा नपुगी सुखै छैन । “अक्टोबर फस्ट” अर्थात् हरेक वर्ष असोज १५ गतेलाई जेष्ठ नागरिक दिवस घोषणा गरेर मात्र पुग्दैन राज्यले ती जेष्ठ नागरिकको दैनिकी कसरी गुिज्ररहेको छ भनेर अध्ययन गरी तदनुरुप सहयोग पु¥याउन सक्नुपर्दछ । यो राज्यको जेष्ठ नागरिक प्रतिको कर्तव्य हो ।

वास्तवमा अथाह ज्ञानका भण्डार, अनुभवका धनी वृद्धवृद्धाहरुबाट सन्तान, समाज, राज्यले सिक्नु पर्ने कुराहरु धेरै छन्, तर तिनै सन्तानले आफ्ना हजुरबाआमा, बुवाआमालाई गनगने, कचकचे भन्छन् । उनीहरुको कुरा सुन्न चाहँदैनन् । नत नजिक बसेर वृद्धवृद्धाका समस्याहरु बुझ्न नै चाहन्छन् । उनीहरुसित घरदेखि बाहिर गएर घुम्ने, डुल्ने फुर्सद हुन्छ । घरैमा बसेपनि टि.भी. हेर्न, साथीहरु बोलाएर पाटी गर्न फुर्सद मिल्छ तर एउटै घरमा बस्ने बुबा आमा, हजुरबाआमासित कुरा गर्ने फुर्सद छैन । त्यसैले वृद्धवृद्धाहरु आफूलाई एक्लो महसुस गर्छन् । शारीरिक बल घटेर थकित भएको बेला रोगले गाँजेर गलित भएको बेला घरपरिवारबाट खान लाउन भन्दा वृद्धवृद्धाहरुले मीठो बोली वचन र मायाको अपेक्षा गर्नु भुल हो ? आफू भन्दा पछिल्लो पुस्तालाई नबिग्रिऊन् ,दुःख नपाऊन् भनी चिन्ता गर्नु, सही मार्ग निर्देशन गर्नु र आफ्ना अनुभवका आधारमा केही कुरा सुनाउनु कचकचे हो ? यदि त्यसो हो भने सन्तानको अभिभावकप्रति कुनै दायित्व हुँदैन ? जसको रगतबाट आफू बनेको छ त्यही रगतलाई अपहेलना गर्नु आफ्नै अपहेलना भएन र ?

यस्तै समस्याको भुमरीमा पर्नु भएको काठमाडौं चावहिल निवासी मोहन मान भन्नुहुन्छ “बाह्रछोरा तेह्र नाति, बूढाको धोक्रो काँधै माथि” छोरा पाएँ बुहारीलाई दिएँ छोरी पाएँ ज्वाइँलाई दिएँ । आफू रित्ताको रित्तै । भएकी एउटी बूढी पनि भगवानकी प्यारी भई । म बूढो एक्लोको एक्लै । चारभाइ छोरा दुई बहिनी छोरी आधा दर्जन सन्तानको लालन पालन गरेँ । सबैलाई पढाएँ, गच्छे अनुसार बिहादान गरिदिएँ । बुहारीहरु हानथाप गर्न थाले । चारचारवटी बुहारीकी सासू भान्सामा जोतिनुपर्ने भयो बूढीलाई । हुँदा हुँदा छुट्टिन निहुँ खोजे । ल त भनेर मैले भए भरको जायजेथा चार जनालाई बराबर भाग लगाइदिएँ । आफ्नो लागि बैंकमा अलिकति पैसा राखेको थिएँ त्यैपनि कान्छो छोराले हत्ते गरेर झिक्न लगायो । ल त पालै पालो ३, ३ महिना पाल भनेर पहिला कान्छासित बसेको थिएँ । बुहारीले साह्रै हेला गरी । बासी खान दिने, लुगा नधोइदिने झर्की फर्की समेत गरी । जेठाको घरमा गएँ उसले भएको पैसा प्यारो कान्छो छोरालाई ख्वायौ भनेर दिनदिनै घोचपेच गरिरह्यो । माइलोकोमा गएँ उसकी स्वास्नी त झन्  मसित बोल्दा पनि नबोल्ने साना छोराछोरी (नातिनातिना) लाई मेरो छेउमा गयो भनेर कुटपिट पो गरी । ती बच्चाहरु रुँदा मेरा पनि आँखाबाट आँसु झरे ।

मेरा कारणले त्यसरी निर्दोष बाल बच्चाले पिटाइ खानुपरेको देखि म त्यहाँबाट साइँलोकोमा गएँ । साइँली बुहारी चोथाले छे । उसकी सासू छँदा पनि बेलाबेलामा निहँु खोजेर बाझ्ने गर्थी । मलाई उसको बानी थाहा थियो, त्यसैले जाने मनै थिएन । बाध्य भएर मात्र हो । उसले मलाई देख्नासाथ कसैले नराखे पछि यहाँ मुिन्टन आयौ ? भनेर दुर्वचन बोली, त्यहाँबाट फरक्क फर्केर एउटा कोठा खोजेर डेरामा बसेको छु । दुईवटी छोरीहरुले पालैपालो हेरिरहेका छन् । डेरा भाडा, खाना खर्च दिन्छन् । बेलाबेलामा आएर नुहाई धुवाई गरिदिने पनि गरेका छन् । घरै जाऊँ भन्छन्, मलाई कुटुम्बको घरमा गएर बस्न मन लाग्दैन । ज्वाइहरु पनि जाती छन् । आफ्ना छोराले भन्दा अर्काको छोराले बरु हेरविचार गरिरहेका छन् । अंश खाने छोराले भन्दा छोरीले बरु हेरविचार गरेका छन् । छोरो त सानो छउन्जेल मात्रै रहेछ । ठूलो भएर बिहे गरेपछि त मोरो हुँदो रहेछ । यसो वृद्धाश्रममा बसौँ भन्दा पनि छोराछोरी भएको मान्छे भनेर भर्ना लिन मानिरहेका छैनन् । कुनै ठाउँमा वडाको सिफारिस चाहिन्छ भन्छन् । जेठो ज्वाइँले कतै जानु पर्दैन बुबा हामी हेरिहाल्छौ नि भन्नुहुन्छ तर मलाई भने अप्ठेरो लागिराछ । मर्न पनि सकिनँ के गर्नु म बूढोलाई कालले पनि लगेन । छोरी ज्वाइँहरुलाई दुःख भयो बिचरा ।”

उहाँ जस्ता थुप्रै वृद्धवृद्धाहरु हुनुहुन्छ हाम्रो समाजमा, आफूले सकेको बेलामा घरपरिवार, समाज र देशको लागि योगदान पु¥याएका यस्ता वृद्धवृद्धाको संरक्षण गर्नु हाम्रो कर्तव्य होइन र ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।