सुशीला देउजा
झसङ्ग भई निद्राबाट बिउँंझिएका मन्त्री महोदयले सिरानमुनि राखेका फाइल र कलम फुत्त फ्याले । मानौं उनले भयानक सपना देखे । अनि संगै निदाइरहेकी श्रीमतीलाई घचघचाउँंदै बिउंँझाएर भने ‘ए बाबुकी आमा लौन मलाई गालामा ठयाम् ठयाम् हान त’ ।
अर्धनिद्रामा परेकी श्रीमती केही नबुझेर छक्क परेर हेरिरहिन् । मन्त्रीले झर्किदै आफैले आफनो गालामा ठयाम् ठयाम् हाने । त्यसपछि मन्त्रीज्यूले खुसीको
लामो सास फेरे र भने ‘अहो, कस्तो अनर्थको सपना देखेछु । साँच्चिकै पो हो कि भनेर मेरो त हातखुट्टा पनि फत्रक्क गलिसक्यो’ ।
ती मन्त्रीलाई आफ्ना कर्मचारी माथि पटक्क विश्वास थिएन । कर्मचारीका हरेक गतिविधिलाई उनी शङ्काको दृष्टिले हेर्दै सोच्थे ‘कतै तिनले मलाई झुक्याएर हस्ताक्षर पो गराउँछन् कि ? । त्यसैले उनी ठूला ठूला रकमवाला र महत्वपूर्ण फाइल अफिसमा नराखी सिधै घर ल्याउँथे । घरमा पनि जहाँ पायो त्यहीँ राख्न डराउँथे । त्यसैले ती फाइलहरु उनी आफ्नो सिरानमुनि राखेर ढुक्क भई सुत्थे ।
गएको रात उनले सपनामा हेर्दे नहेरी फाइल सदर गरेको देखे । तत्काल उनी झसङ्ग भई बिउँझिए । विना मोलतोल उनले कहिल्यै फाइल सदर गर्ने गरेका थिएन् । तर आज सपनामा कुनै मोलतोल विना विशेष फाइलमा खुरुखुरु हस्ताक्षर गरेको देखे । उनलाई आफैमाथि विश्वास लागेन । सपना हो कि विपना छुट्याउन उनले आफ्नै गालामा ठयाम् ठयाम् हानेका हुन् ।
डरलाग्दो सपनाले तर्सिएका मन्त्रीज्यू त्यहाँदेखि कलम पनि साथमा राख्दैनन् । के थाहा निद्रमा आफै हस्ताक्षर भइहाल्छ कि ?